Section 8
सपुर्दगीको लागि अनुरोध गर्दा खुलाउनु पर्ने विवरण तथा संलग्न गर्नुु पर्ने कागजात

(१) दफा ७ बमोजिम सपुर्दगीको लागि अनुरोध गर्दा माग गर्ने राज्यले देहायका विवरण खुलाउनु पर्नेछः–

(क) फरार अभियुक्त वा कसूरदारको हुलिया, राष्ट्रियता, राष्ट्रिय परिचयपत्र नम्बर लगायत पहिचान हुन सक्ने यथार्थ विवरण र यथासम्भव हाल बसोबास गरिरहेको स्थान सम्बन्धी जानकारी,

(ख) कसूर भएको स्थान, मिति र कसूरको विवरण,

(ग) कसूरका सम्बन्धमा माग गर्ने राज्यको प्रचलित कानूनी व्यवस्था र कसूर ठहरेमा वा कसूर ठहरी सकेकोमा हुन सक्ने वा भएको अधिकतम सजाय ।

(२) दफा ७ बमोजिम सपुर्दगीको लागि अनुरोध गर्दा माग गर्ने राज्यले देहायका कागजात संलग्न गर्नु पर्नेछः –

(क) कसूरसंग सम्बन्धित प्रमाण कागजात,

(ख) अधिकार प्राप्त अधिकारीबाट त्यस्तो अभियुक्त वा कसूरदार पक्राउ गर्नको लागि जारी गरिएको वारेण्ट,

(ग) कसूरदारको सपुर्दगीको सम्बन्धमा सक्षम अदालत वा अन्य सक्षम निकायले गरेको फैसलाको प्रतिलिपि,

(घ) सपुर्दगीका लागि अनुरोध गर्दाका बखत उल्लेख गरिएको कसूर बाहेक अन्य कसूरमा कारबाही नचलाइने प्रतिबद्धता,

(ङ) सपुर्दगीका लागि अनुरोध गर्दाका बखत उल्लेख गरिएको कसूर वापत हुन सक्ने सजाय भन्दा कम सजाय हुन सक्ने कसूरमा कारबाही नचलाइने प्रतिबद्धता,

(च) सपुर्दगी गरिएको फरार अभियुक्त वा कसूरदार अन्य कुनै राज्यलाई पुन सपुर्दगी नगर्ने प्रतिबद्धता,

(छ) खण्ड (च) बमोजिम सपुर्दगी नगरी नहुने अवस्थामा नेपाल सरकारको पूर्व सहमति लिने प्रतिबद्धता ।